शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल प्रहरीमा तीन एआईजी थपिने पक्का, को–को छन् दौडमा?

बुधबार, माघ ५ २०७८

काठमाडौं। नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी)का तीन दरबन्दी थपिने पक्कापक्की भएको छ। गृह मन्त्रालयले उक्त प्रस्ताव राष्ट्रिय सभाको निर्वाचन सकिनासाथ मन्त्रिपरिषदमा पेस गर्ने भएपछि बढुवाका लागि प्रहरी नायव महानिरिक्षक (डीआईजी)हरूको शक्ति केन्द्रको दौड सुरु भएको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेका कारण १२ माघसम्म दरबन्दी थप र बढुवा गर्न पाइँदैन। आगामी साता नै थपिने दरबन्दीका लागि प्रतिस्पर्धा सुरु भइसकेको बताइन्छ।

हालका प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीका ब्याची पनि डीआईजी नै रहेका छन्। उनको ब्याचबाट भने एक जना मात्र एआईजीमा बढुवा हुने सम्भावना रहेको बताइएको छ।

एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची दुई जना थपिने दरबन्दीमा बढुवा हुनेछन्। योसँगै आगामी आईजीका लागि चार जनाको प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। अन्य एआईजी आईजी थापासँगै घर जानेछन्।

बढुवाको दौडमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी धीरजप्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुक, बसन्त लामा र अरुण बीसी छन्।

यी ५ मध्ये दुई जना एआईजी बढुवासँगै आईजीको प्रतिस्पर्धामा पोखरेल र थापालाई चुनौति बन्नेछन्।

केपी शर्मा ओली सरकारले दुई एआईजी दरबन्दी थप गर्दै पोखरेल र थापाको बढुवा गरेको थियो। ‘दरबन्दी थप्ने राजनीतिक तहमा सहमति बनेको छ, गृह मन्त्रालयलाई अर्थ मन्त्रालयको सहमति पनि भैसकेको छ। अब प्रस्ताव मन्त्रिपरिषदले पारित गरी दरबन्दी थप्ने निर्णय मात्र बाँकी हो’, उच्च सरकारी स्रोतले भन्यो,‘लगत्तै एआईजीमा बढुवाको निर्णय पनि हुनेछ।’