काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल बोलाएको छ । स्थानीय तहको निर्वाचनमा दलहरुको मौनतालाई लिएर आयोगले आज विभिन्न १७ दललाई छलफलका लागि बोलाएको हो ।
विहान ११ बजे बस्ने बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ ।
छलफलका लागि पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ । स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।
संविधान अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन दुई महिना अघि नै निर्वाचन गर्नु पर्ने प्रावधान छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले आगामी वैशाखमा चुनाव गर्नु पर्ने भन्दै आयोगले प्रधानमन्त्रीलाई सुझाव दिइसकेको छ ।
गएको पुस ९ गते प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेरै आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन ।
आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने बताएका थिए ।