काठमाडौँ । विकास खर्च हुन नसक्दा त्यसले बैंकहरुको लगानीयोग्य रकममा नै प्रभावत पारेको छ । बाह्य आर्थिक परिसुचक सोधनान्तर स्थिती, रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती पनि घट्दो अवस्थामा छन् ।
गत ५ महिनामा ३ खर्ब २० अर्ब कर्जा प्रवाह हुँदा १ खर्ब १४ अर्ब मात्रै निक्षेप सकंलन भएको छ । बैंकहरुमा स्रोतको अभाव छ । रकमको जोहो गर्न अहिले सरकारले पनि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग शुन्य ब्याजदरमा ऋण लिन लागेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बढ्दो आयात र घट्दो रेमिट्यान्सका कारण मुलुकको वैदेशिक मुद्रा सञ्चितीमा नै कमि आएको छ । मुलुक भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएसँगै सोधनान्तर स्थिती १ खर्ब ५० अर्ब ३८ करोडल घाटामा छ ।
आयात ६१.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । र, यहि अवधिमा रेमिट्यान्स ७ दशमलव पाँच प्रतिशतले घट्दा विदेशी बिनिमय सञ्चिती गत असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रहेकामा अहिले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको छ ।
तरलता अभाव हटाउन नेपाल राष्ट्र बैंकले यो अवधिमा रिपो मार्फत २ खर्ब ४० अर्ब, ओभरनाइट रिपो ७९ अर्ब प्रवाह गरेको छ। त्यस्तै ९२ अर्ब पुनरकर्जा पनि स्वीकृत गरेको छ ।
सोधनान्तर स्थिती सुधार ल्याउनका लागि चाँदि आयात गर्नको लागि विदेशी मुद्राको सिमा घटाउने र अन्य केहि बस्तुको आयात गर्दा नेपालका बैंकमा सतप्रतिशत रकम बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । तर, अर्थतन्त्र अघि बढाउन र बिग्रेका आर्थिक परिसुचकमा सुधार ल्याउन पुँजीगत खर्चमै बृद्धि गर्नुपर्ने अपरिहार्य छ ।
सरकारले विकास निर्माणका काम अघि नबढाउँदा सम्म न विदेशबाट ठूलो मात्रामा ऋण र अनुदान लिन सकिन्छ नत स्वदेशमा नै तरलता अभावको समस्या हल गर्न सकिन्छ । त्यसैले वर्षको अन्त्यमा आएर खर्च गर्ने प्रवृति तोड्दै समयमा विकास खर्च गराउनु अहिलेको आवश्यकता हो ।