शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लहडमा सुरु गरिएको अतिरिक्त खोप अभियान एक दिन पनि टिकेन

बुधबार, पुष २१ २०७८

काठमाडौं । लहडमा सुरु गरिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान  एक दिन पनि पुरा नगरी स्थगित गरिएको छ । खोपको मौज्जादको आँकलन नगरी सुरु गरिएको अतिरिक्त खोप अभियानको सर्वत्र विरोध भएपछि स्थगन गर्नु परेको सरकारको भनाई छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको भन्ने जानकारी आएपछि अतिरिक्त मात्रा लगाउन न्यायोचित नभएकाले तत्कालका लागि अभियान स्थगित गरिएको जानकारी दिए ।

सरकारले हिजोदेखि अतिरिक्त खोप लगाउन देशभर उर्दी जारी गरेको थियो ।  कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए । अधिकारीका अनुसार अतिरिक्त अभियान आगामी माघबाट सुरु गरिने छ ।  अतिरिक्त खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने रोकिएको छैन । 

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने भनिएको थियो ।