काठमाडौँ l नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व छनोट प्रक्रियाबाट अलग हुने निर्णय गर्दै महाधिवेशन उदघाटन पश्चात मतदानमा समेत सहभागी नभएका रामचन्द्र पौडेल केन्द्रीय सदस्यमा मनोनीत भएसँगै उनीमाथि पार्टीकै नेताहरूले प्रश्न उठाएका छन् ।
महाधिवेशन अवधिमा पौडेलले प्रेस नोट जारी गर्दै राजनीतिबाट विश्राम लिने घोषणा नै गरे । तर, जब महाधिवेशन सकियो, तब उनले राजनीतिक विश्राम नलिएको भन्दै आफू सक्रिय हुने घोषणा नै गरे । जसकारण उनी चौतर्फी आलोचनाको सिकार भएका छन् ।
अहिले आफू निकटलाई सभापतिमा उम्मेदवार बन्न शेखर कोइराला, प्रकाशमान सिंहलगायतले असहयोग गरेकाले आफू निष्क्रिय बसेको बताउन थालेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरे ।
नौजनामाथि कसैले प्रश्न उठाएका छैनन् । तर, पौडेलमाथि भने उनी निकट नेतादेखि विश्लेषकहरूले समेत प्रश्न उठाएका छन् । नेता गुरुराज घिमिरेले राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन भन्दै आलोचना गरेका छन् ।
‘हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेलले कांग्रेसको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभो।आज केन्द्रीय सदस्यको मनोनयनमा पर्नु भो । प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो ? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो ?’ घिमिरेले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।