काठमाडौं । आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको मान्यता छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि पछिल्लो वर्ष अंग्रेजी नयाँ वर्ष मनाउने क्रम बढेको छ । नेपाल भ्रमणमा आउने विदेशीका कारण नेपालमा पनि इस्वी संवतको नयाँ वर्ष मनाउन थालिएको हो ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा हिजो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएको छ । होटल तथा रेष्टुरेन्टहरुमा नयाँ वर्षलक्षित विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ । मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ वर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो राखेको छैन । अंग्रेजी नयाँ वर्ष मनाउन होटल तथा रेष्टुरा पुग्नु संस्कृतिजस्तै बन्न थालेको छ।
कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज भएपछिको यो पहिलो अंग्रेजी नयाँ वर्ष हो । कोरोना संक्रमणकै कारण विदेशी पर्यटकहरुको उपस्थिति न्यून भएपनि आन्तरिक पर्यटकहरुले नै होटल तथा रेष्टुरेन्ट भरिएका छन् ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।