काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको झडप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।
ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ नम्बर क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । गत आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको मृत्यु भएको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै आज दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
आइतबार साँझ ९ बजे तिर सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको मृत्यु भएको थियो । ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किएका थिए । त्यसलगत्तै महतोको ज्यान गएको थियो । सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृहमन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी पठाइएको थियो ।
पछिल्लो झडपमा आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका छन् । सो क्रममा भएको झडपमा १५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल मार्फत समाधानको पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै, सिराहामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको प्रर्दशन उग्र भएपछि प्रशासनले स्थिती समान्य बनाउन निषेधाज्ञा जारी गर्नु परेको बताएको छ ।
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको गहुँको बिउ वितरण गर्न ढिलो गरेपछि किसानले लुटेर लगेका थिए । सोही घटनामा प्रहरीले किसानमाथि मुद्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका हुन् ।
प्रदर्शनकारीले दर्जनौँ गाडीमा ताडफोड गर्नुका साथै ट्रकमा आगजनी गरेका थिए । यस घटनामा प्रहरीले जनमत पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएपछि अवस्था थप तनावग्रस्त बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।