काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आज सुरु हुँदैछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो मात्र महाधिवेशनमा रुपान्तरण गरिएको हो । महाधिवेशनकाे आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन हुनेछ ।
माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ। यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरुले दावी पेश गरिसकेको अवस्था छैन।
पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिक रूपमा नेताहरूले दावी गरिरहेका छन्। सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दावी गरेका छन्।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेलले महासचिवका लागि इच्छा व्यक्त गरेका छन्। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेकी छन्।
तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हालेकाले भुसालले आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेकी हुन्।
माओवादीको विधानअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ।
माओवादीको सङ्गठित सदस्यले वडा सम्मेलनमार्फत वडाको नेतृत्व चयन गरे। वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरे। यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरेको छ। महानगर, नगर र पालिकाबाट चयन भएकाले प्रदेश समिति निर्वाचित गरेको छ। प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेश गर्ने दावी गरेको छ।
अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा अगाडि बढाउने सङ्कल्प गरेका छन्। टुटफुटको शृङ्खलाबाट अगाडि बढेको माओवादीलाई २०६४ सालको जस्तै रापिलो र स्पातिलो बनाउने दृढ सङ्कल्प गरेका प्रचण्डले समाजवादी आन्दोलनलाई विकास गरेर एउटा २१औँँ शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने बताउँदै आएका छन्।