आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कांग्रेसमा उदाएको ‘बाजीगर’ कोइराला कित्ता

मंगलबार, पुष ६ २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई बिजयी गराए पनि बाजीगरका रुपमा उदाएको छ, कोइराला कित्ता। बरिष्ठ नेता रामचन्द्र पौडेल तटस्थ रहँदा देउवासँग सभापतिमा भिडन्त गरेका डा. शेखर कोइराला कांग्रेसभित्रको प्रतिपक्षी नेताका रुपमा उदाएका हुन्।

उनी सभापतिमा पराजित भए पनि ‘बाजीगर’का रुपमा उदाएका हुन्। आफू हारे पनि उनको समूहका युवा पुस्ताले उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यमा हिस्सेदारीका रुपमा बिजय प्राप्त गरेका छन्।

उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका डा. शशांक कोइरालालगायत शेखरका लागि कांग्रेसभित्रका शक्तिका रुपमा उदाएका छन्। प्रदेश १ मा मोरङबाट अमृत अर्याल, सुनसरीबाट राजीव कोइरालालगायतले केन्द्रीय सदस्यमा जीत निकालेका छन्। उनीहरू शेखर कोइराला कित्ताका हुन्।

‘रामचन्द्र पौडेलले कांग्रेसभित्र कोइराला परिवार, खासगरी गिरीजाप्रसाद कोइरालाको स्वामित्वलाई बलियो बनाउन सकेनन्। यस पटकको सन्देश भनेको कोइराला ताकत कमजोर छैन भन्ने नै हो’, उच्च स्रोतले भन्यो,‘शेखर कोइरालाले आफू हारेर पनि टिमलाई जिताउने जुन भूमिका खेल्नुभयो त्यो उहाँको लाइन स्थापित हुन्छ।’

केन्द्रीय समितिमा सामूहिक निर्णय प्रणालीमा सभापति देउवाले भूमिका नखेले सशक्त दबाब दिने बलियो कित्ताको निर्माण भएको स्पष्ट चित्र देखिएको छ। यसैकारण पनि पहिलो पटक पदाधिकारी बैठकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापालगायतले पनि भूमिकापूर्ण स्थान पाएका छन्।

शेखर नेतृत्वको टिममा पराजित भए पनि कोइराला परिवारकी सुजातालगायतको सहभागीता बलियो हुने स्पष्ट देखिएको छ।