शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

फरक क्षमताका सैन्य अधिकारीलाई जंग्गी अड्डाको यस्तो सेवासुविधा

सोमबार, पुष ५ २०७८

नेपाली सेनामा द्वन्द्वको समयमा दीर्घकालीन रुपमा विभिन्न प्रकारका अपांगता भएका ५ सय ५६ जना सकलदर्जा छन् । सैनिक अभिलेखालयका अनुसार ८५ जना दीर्घकालीन रुपमा अशक्त भई निवृत्तिभरणमा गएका छन् ।

विश्व शान्ति स्थापनार्थ खटिँदा ६६ जना सैनिक घाइते भएको तथ्यांक छ । यसरी अपांगता भएका सैनिक तथा उनीहरुका सन्ततिको हकहितमा सेनाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सेनाका अनुसार सैनिक कल्याणकारी कोष र सैनिक पुनःस्थापना केन्द्रले अपांगता भएकाका सैनिकलाई सहयोग गर्दै आएको छ ।  जस्तो कि, विगत द्वन्द्वका क्रममा घाइते भई अपांगता भएका सकलदर्जाको हकमा सैनिक अस्पतालबाट वार्षिक रु. २ लाख २० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा प्रदान गरिएको छ, जुन अन्य सैनिकको तुलनामा दोब्बर बढी हो ।

यसैगरी विगत द्वन्द्वमा परी घाइते भई सहयोगीको जरुरत पर्ने अपांगता भएका सैनिक सकलदर्जाका लागि समेत कल्याणकारी कोषबाट सहयोगी भत्ताको विशेष व्यवस्था गरिएको छ । 

जसअनुसार घाइते भई सहयोगीको जरुरत पर्ने अपाङ्गता भएका सैनिकहरूले मासिक सहयोगी भत्तास्वरुप रु. १० हजार प्रदान गरिँदै आएको सेनाले जनाएको छ । २०७८ साउन १५ गतेसम्म यस्तो सुविधा प्राप्त गर्नेहरूको संख्या १९ जना पुगेको छ । 

यस्तै सैनिक कल्याणकारी कोषले विभिन्न चरणमा गरी हालसम्म ३७ जनालाई राहतस्वरुप ४ पांग्रे स्कुटर तथा शारीरिक रुपमा अशक्त भई हिँडडुल गर्न नसक्ने १ सय ५६ जनालाई ह्वीलचेयर वितरण गरेको जनाएको छ । विगत द्वन्द्वको समयमा घाइते भई सहाराको जरुरत पर्ने सकलदर्जा ६५ जनालाई आर्थिक राहतस्वरुप रु. १ लाख ४ हजारको दरले मुद्दती रसिद वितरण गरेको छ ।

कोषले सैनिकका अपांगता भएका सन्ततिहरूको व्यवस्थापन सेमिनार–२०७७’ आयोजना गरी कार्ययोजना तर्जुमा गरेको छ । १९ जना हिताधिकारीका सन्ततिहरूलाई ८ वटा केयर होम÷ शिक्षण संस्थाहरूसँग पठनपाठन लगायतको विषयमा सहमति गरिएको छ । 

यसबाहेक सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा अपांगता भएका बालबालिकाहरूका लागि कोटा निर्धारण, रिपुमर्दिनी वाटर प्लान्टको आयलाई अपांगता भएका सन्ततिहरूको हकहितमा खर्च गर्दै आएको छ ।

कल्याणकारी बोर्डको पहलमा भविष्यमा करिब ४० जना क्षमतायुक्त हेरचाह गृह (केयर होम) स्थापना गर्ने लक्ष्य लिइएको छ । हेरचाह गृह तथा शैक्षिक संस्थामा फरक क्षमता भएका बालबालिकाका लागि वीरेन्द्र अस्पताल, छाउनीबाट फिजियोथेरापिष्ट,  स्पीचथेरापिष्ट, पेडियाट्रिक्स र आवश्यकताअनुरुप स्वास्थ्य सुविधाका लागि थप विशेषज्ञ डाक्टरको व्यवस्था गर्ने लक्ष्य पनि लिइएको छ । 

यस्तै, सैनिक पुनस्थापना केन्द्रले  २०६५ सालदेखि हालसम्म ५ सय ६८ जना बहालवाला तथा भूतपूर्व सैनिक र गैर सैनिकतर्फ ६ सय २० जना गरी कुल १ हजार १ सय ८८ जना अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम अंग उपलब्ध गराएको र आवश्यक सेवा प्रदान दिएको जनाएको छ । केन्द्रले मोबाईल क्याम्प पनि आयोजना गर्दै आएको छ । साथै,  २८ जना प्याराग्लेजिकका बिरामीहरूलाई सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरेको छ ।(स्रोत : पर्दाफास डटकम)