सशस्त्र प्रहरी बलको ११ नम्बर गण, गौरका घुमुवाले संगठनकै बदनाम हुने गरी व्यापारी तर्साउने काम गरेपछि त्यस्तो कामको जानकारी गराउन व्यापारीहरु अघि सरेका छन् । अनलाइन बिल भएको सामानमा समेत व्यापारीले थप रकम नदिए सशस्त्रले भन्सार चलान गर्न थालेपछि व्यापारीहरु उग्र भएका हुन् ।
अपराध नियन्त्रण र सूचना संकलनका लागि खटिएका सशस्त्रका घुमुवा प्रहरी नै द्रव्य संकलनमा लागेको आरोप छ । माथिल्लो निकायका हाकिमकै निर्देशनमा रौतहटको गौरमा घुमुवा रवि मिश्र र उमेश पण्डितको अवैध असुली तीब्र भएको व्यापारीहरु बताउँछन् ।
हिजो बिहान ११ बजेको समयमा सशस्त्र प्रहरीका घुमुवा मिश्र र पण्डितले बिर्ताका व्यपारीसँग ३० हजार रुपैयाँ मागेका थिए । व्यापारीले आफूले भन्सार तिरेर ल्याएको सामानको अनलाइन बिल साथमा रहेको जानकारी गराउँदा गराउँदै पनि भने जति रकम नदिएको झोँकमा उनीहरुले ती व्यापारीको सामान पुनः भन्सार चलान गरिदिएको गुनासो छ ।
सशस्त्रका घुमुवाले बिर्ताका व्यापारी अम्रेन्द्रकुमार जयसवालको सामान भन्सार चलान गरेका हुन् । मिश्र र पण्डितले व्यापारी जयसवालसँग पैसा नदिए अनलाइन बिल भए पनि केही नलाग्ने भन्दै धम्काएका थिए । उक्त धम्कीको अडियो जनआस्थाले समेत फेला पारेको छ ।
व्यापारी जयसवाललाई सामान लिएर आउँदै गर्दा घुमुवा मिश्रले पहिले पैसा बुझाउन र त्यसपछि मात्र सामान लैजान भन्दै हकारेको सुनिन्छ । त्यसबखत उनले ३० हजार रुपैयाँ मागेका थिए । घुमुवालाई अवैध रकम नदिई गाडीमा समान लिएर हिँडेका जयसवाललाई सामानसहित हिजो नजिकैको नहरबाट पक्राउ गरी उनीहरुले भन्सार चलान गरिदिएका हुन् ।
रौतहटको सिमानामा सशस्त्र प्रहरीका घुमुवा मिश्र र पण्डितको दादागिरीका कारण आफूहरु हैरान बनेको व्यापारीहरु बताउँछन् । नेपाल प्रहरीका घुमुवाले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाएको घटना सेलाउन नपाउँदै सशस्त्र प्रहरीका घुमुवाको हर्कत बाहिरिएको हो ।
रौतहटका व्यापारी आफूहरुलाई कुन केसमा कसरी र कहिले फसाइदिन सक्ने भन्ने त्रासमा रहेको बताइन्छ । अपराध नियन्त्रणको निम्ति सूचना संकलन गर्न सशस्त्र प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीले अवैध रकम नदिएको झोँकमा व्यापारीको सामान भन्सार पठाउने काम गर्न थालिएको व्यापारीहरुको आरोप छ । ४५ हजार ९ सय ९१ रुपैयाँको २ बोरा पतञ्जली बिस्कुट, सेम्पु ३ कार्टुन, पार्ले क्रिम बिस्कुट ५ कार्टुन ल्याएका जयसवाललाई घुमुवाले ३० हजार घुस नदिएको झोँकमा भन्सार चलान गरेका हुन् । जनआस्था साप्ताहिकमा खबर छ l