शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पदाधिकारीको मतगणना शुरू गर्ने तयारी,को–को बन्लान् कांग्रेस महामन्त्री ?

बुधबार, मंसिर २९ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्बाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनका अनुसार पदाधिकारीको मतगणना आज अपराह्नदेखि सुरु गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो ।

कांग्रेस महामन्त्रीमा युवा उम्मेदवारबीच कडा टक्कर हुने आकलन रहेकाले चासोका साथ हेरिएको छ । महामन्त्रीमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । महामन्त्रीमा २ जना निर्वाचित हुने व्यवस्था छ ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि मंगलवार पुनः मतादन भएको थियो । 

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । मंगलवार राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए  । दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मतगणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताएका छन् । 

उनले भने, ‘आजै मतगणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौं र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौं ।’

कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मंसिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको  १४औं महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रिय सभागृहमा १ स्थान र भृकुटीमण्डपमा २ स्थानमा मतदान भएको थियो ।