बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महासंघका अध्यक्ष र फ्रेन्च राजदूत बीच भेटवार्ता 

बुधबार, मंसिर २९ २०७८

भौगोलिक अवस्थिति र यूवाहरूको बाहुल्यता नेपालको सशक्त पक्ष हुनु, अध्यक्ष गोल्छा

काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदुत जिल बुर्बाओ बीच सोमबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भयो । 

भेटवार्तामा राजदूत बोरबाओको महासंघ सचिवालयमा स्वागत गर्दे अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन वाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिए । यो दुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले निकै धेरै चुनौतीको सामना गर्नु परेको पनि बताए । सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दूर्घटनाबाट जोगिएको स्पष्ट पार्दे अझै खतरा भने टरि नसेककाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए । 

यसका लागि महासंघले अर्थतन्त्रको मुुख्य आधारशिलाका रुपमा रहेको साना तथा मझौला उद्यम व्यवसायको लागि तत्काल पुनरूत्थानमा जोड दिएको बताए । महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं अन्तरिक लगानी आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारबाट समेत महासंघको उक्त दस्तवेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको बताए । 

नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि अध्यक्षले आग्रह गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, बाह्य लगानीका लागि सरकारी अनुकुल नीति र वाह्य लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न आग्रह गरे । भौगोलिक अवस्था र यूवाहरूले भरिएको मुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि स्पष्ट पारे ।

अध्यक्ष गोल्छाले फ्रेन्च राजदूतावास र महासंघको नजिकको सहकार्यमा परिणामदायी कार्यहरू हुुनेमा महासंघ विश्वस्त रहेको र राजदुतबाट महत्वपूर्ण सहयोग पाउने आशा महासंघले गरेको बताए । साथै उनले नेपाल फ्रान्स बीचको एतिहासिक संस्कृतिक सम्बन्धको चर्चा पनि गर्नुभयो । राजदूत जिल बुर्बाओले महासंघले अगाडी सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । हामी धेरै क्षेत्रमा छरिनुु भन्दा पनि ठोस र परिणामदायीरूपमा काम गर्न सकिने क्षेत्रहरू पहिचान गरी अगाडि बढौं, सफलता हासिल हुनसक्छ, राजदूतले भने, नविकरणीय उर्जा, कृषिको उत्पादकत्व बृद्धि, पर्यटन, विद्युतीय सवारी साधन लगायतका क्षेत्रमा सहकार्य गर्न सक्छौं ।साथै उहांले महासंघ र राजदूतावासबाट विगतमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रमहरूका सम्बन्धमा स्मरण समेत गरे । 

भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूतावासका चार्ज डि मिसन दिपेश कुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।