शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हजार गन्दा देउवाको अग्रता फराकिलो बन्दै , कोइराला एक सयले पछि

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक नतिजामा सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।  प्रारम्भिक नतिजा अपडेट भइरहदा देउवाले अग्रतालाई फराकिलो पार्दै लगेका हुन् ।  

काठमाडौंको राष्ट्रियसभा गृहमा जारी मतगणनामा १ हजार मत गन्दा  देउवाले ४७३ मत पाएका छन् भने अर्का प्रत्यासी डा. शेखर कोइरालाले ३७६   मत पाएका छन् । देउवाले ४७ प्रतिशत मत लिएका छन् ।  कांग्रेसको नयाँ नेतृत्वका लागि देउवा र  कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत भन्दा बढी मत अर्थात २३४० मत आवश्यक पर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ । सभापतिको परिणाम सार्वजनिक भएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना हुने छ । 

हिजो दिउसो १२ बजेदेखि भएको मतदान राति साढे १२ बजेसम्म चलेको थियो ।  कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ ले भोट खसालेका छन् ।   

महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।