शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

९ जना जर्नेलमा बढुवा फाइल अघि बढ्याे जर्नेल बानियाको गुहार सुनिएन

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । नेपाली सेनाका सहायक रथी सुरेश बानियाँ सिनियर हुँदाहुँदै बढुवा सिफारिसबाट पटक पटक बञ्चित हुनु परेको सैनिक नियम अनुसार नै पुनरावलोकनमा गएका थिए ।

स्रोतका अनुसार, नेपाली सेनाका रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको पुनरावलोकन समितिमा वरिष्ठ सहायक रथी सुरेश बानियाँको पुनरावलोकन निवेदनका सम्बन्धमा एक तह बढुवाका लागि बढुवा  समितिले उनलाई किन बढुवा सिफारिस गरेन भन्ने बारेमा अध्ययन र छलफल ग¥यो ।

रथी कार्कीको अध्यक्षतामा बसेको पुनरावलोकन समितिले जर्नेल बानियाँ दुई पटक कोर्टमार्शलको सजायमा परेकाले सैनिक नियम अनुसार, बढुवा गर्न नमिल्ने निर्णय सुनायो । त्यसपछि सहायक रथी सुरेश बानियाँले पुनरावलोकनको समितिको निर्णय चित्त नबुझेर प्रधान सेनापति प्रभुराम शर्मालाई गुहारे ।

प्रधान सेनापति शर्माले पनि सेनाको पुनरावलोकन समितिले जर्नेल बानिया“का बढुवा सम्बन्धमा गरेको निर्णय नउल्ट्याउने ठहर सुनाए । त्यसै कारण यो पटकको बढुवा सिफारिसमा सहायक रथी सुरेश बानियाँ परेनन् । अब २०७९ वैशाखमा रिक्त हुने उपरथीको दरबन्दीमा बढुवाका लागि सिफारिस हुन सक्ने संकेत चाहिं प्रधान सेनापति शर्माले गरेको स्रोत बताउछ ।

एक महिना अघि २०७८ कात्तिकको अन्तिम साता सेनाको बढुवा समितिको  बैठकले सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि सिफारिस गर्न सूचना प्रकाशित गरेको थियो । केसी र शर्मा दुवै जना  बानियाँ भन्दा जुनियर हुन् । तर, उनीहरूको नाम बढुवाका लागि सिफारिस हुँदा २५ बेसिकका अरू समकक्षीहरू यस अघि नै उपरथीमा बढुवा भइसके यस पटक पनि बानियाँ भने कोर्टमार्शलकै कारण बढुवा सिफारिसमा नपरेको स्रोत बताउछ  ।

‘दुई पटक कोर्ट मार्सलमा परेकाले यसअघि जुनियरहरू बढुवा हुँदा बानियाँ समेटिएनन्,’ सैनिक स्रोत भन्छ, ‘यस पटक दुई सहायक रथीको बढुवा सिफारिसका लागि सूचना प्रकाशित हुँदा पनि सैनिक अनुशासनमा कारवाही भएकै कारण उनी वञ्चित भएका हुन्, त्यसैले पुनवरालोकन समितिले पनि सैनिक नियम अनुसार नै निर्णय लिन बाध्य भएको हो ।’  

बढुवा सिफारिसमा परेका शर्मा चाहिं सेनाको लेखा विभागको दुई तारे जर्नेलको दरबन्दी काटिएपछि उनी इन्फेन्ट्रीमा सरेर बढुवा सिफारिसका लागि सूचना प्रकाशितको लिष्टमा पर्न सफल भएका  हुन् ।

बढुवा सिफारिसमा परेका केसी र शर्माको सूचना प्रकाशित भएको मितिले सात दिनपछि रक्षा मन्त्रालयमार्फत बढुवाको प्रस्ताव मन्त्रिपरिषदमार्फत बढुवाको सिफारिस हुने व्यवस्था भएकोमा सहायक रथी बानियाँको पुनरावलोकन निवेदनका कारण रक्षामा पठाउन विलम्ब भएको सैनिक स्रोत बताउछ ।

सेनाले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदले निर्णय गर्ने प्रावधान छ । सेनाको उपरथीमा बढुवा सिफारिस भएका  सहायक रथी केसी मध्य कमाण्ड हेडक्वार्टर पोखरा छन् भने शर्मा पश्चिम कमाण्ड हेडक्वार्टरमा कार्यरत रहेका छन् ।

सेनाको बढुवा समितिको बैठकले सात महासेनानीलाई पनि सहायक रथीमा बढुवाका लागि सूचना प्रकाशित  गरेको थियो । जर्नेलमा बढुवा सिफारिसका लागि सूचना प्रकाशितमा परेका महासेनानीहरूमा प्रकाशराज थापा, कृष्णप्रसाद भण्डारी, भोलानाथ थापा, विष्णुकुमार खड्का, भुवन खत्री, मनोजकुमार सिलवाल र ज्योतिन्द्र महत रहेका थिए ।

दुई सहायक रथीहरुकाे उपरथीमा  र सात महासेनानीहरुकाे सहायक रथीमा  बढुवा हुने भएकाले नाै जर्नेलहरूको बढुवा सिफारिस एकै पटक रक्षा मन्त्रालयमा गएकाे छ ।  एक महिनादेखि रोकिएको जर्नेलहरूकाे बढुवा सिफारिस बल्ल सैनिक हेडक्वार्टरले २०७८ मंसिर १९ गते आइतवार रक्षा मन्त्रालय पठाएको स्रोतले बतायो ।(साँघु साप्ताहिक)