शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पहिलाे चरणमै नजिते देउवालाई सभापति बन्न मुस्किल

सोमबार, मंसिर २७ २०७८

काठमाडौँ l पहिलो चरणमै सभापति निर्वाचित हुन नसके आफूहरुलाई अप्ठ्यारो पर्ने निष्कर्षमा शेरबहादुर देउवा पक्ष पुगेको छ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। सभापतिमा देउवा र शेखर कोइराला पूरा प्यानलसहित प्रतिस्पर्धामा छन्।

देउवा समूहको आइतबार राति बसेको बैठकले पहिलो चरणकै मतदानमा सभापतिमा निर्वाचित हुनका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने निष्कर्ष निकालेको हो। मतदान दोस्रो चरणमा गएमा सभापतिमा आफूहरु कमजोर बन्ने मूल्यांकन देउवा समूहले गरेको हो।

कांग्रेसमा नयाँ नेतृत्वका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। त्यसमध्ये दुई हजारभन्दा बढी मत आफ्नो पक्षमा रहेको विश्लेषण देउवा पक्षको छ।

तर सभापतिको दाबेदारी दोस्रो चरणको निर्वाचनमा गएमा कमजोर बन्ने मूल्यांकन गरेको देउवा पक्षले आफ्नो सम्पूर्ण बल पहिलो चरणबाटै जित्नेमा लगाउने भएको हो।

महामन्त्रीमा एनपी साउद, ज्ञानेन्द्र कार्की, रमेश लेखक, विश्वप्रकाश शर्मासहितका नेतालाई छाडेर कृष्णप्रसाद सिटौला खेमाका प्रदीप पौडेललाई उम्मेदवार बनाएपछि नेताहरु आक्रोशित रहेका छन्। देउवाले धेरै समय असन्तुष्ट नेताहरुलाई सम्झाउन लगाउनुपर्दा अन्यत्र ध्यान दिन पाएनन्।

सो आक्रोशको फाइदा प्रकाशमान सिंह खेमाबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्मालाई हुन सक्ने विश्लेषण देउवा खेमाको छ र सो प्रभाव सभापतिमा पनि पर्न सक्ने उनीहरुले विश्लेषण गरेका हुन्।

दोस्रो चरणमा सभापतिको निर्वाचन धकेलिएमा देउवाविरुद्ध मोर्चाबन्दी हुने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले औपचारिक रुपमै बताएका छन्।

यस्तै सिंहको आसय पनि दोस्रो चरणमा गएमा शेखरलाई समर्थन गर्ने रहेकाले पहिलो चरणमै जित्न नसकेमा सभापति हत्याउन आफूहरुलाई मुस्किल पर्ने देउवा पक्षले मूल्यांकन गरेको हो।