काठमाडौँ l नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदै छ। दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनकोे सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ।
शुक्रबार महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका आठसहित जम्मा १५ जना नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रमको औपचारिक प्रारुप तयार भएको छ। कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्माले पाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गर्ने तयारी भए पनि उनी अस्वस्थ भएपछि शर्माले महाधिवेशनको उद्घोषण गर्ने अवसर पाएका हुन्।
महाधिवेशनमा स्वागत गर्ने जिम्मेवारी काठमाडौँ कांग्रेसका सभापति सबुजकृष्ण बानियाँले पाउने भएका छन्। दिउँसो १ बजे औपचारिक रुपमा सुरु हुने कार्यक्रममा बानियाँले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधि, अरु पार्टीबाट आएका आगन्तुक र विदेशी प्रतिनिधिलाई स्वागत गर्नेछन्।
स्वागत मन्तव्यपछि पार्टीकै पदाधिकारीहरुले सम्बोधनका लागि समय पाउनेछन्।
कांग्रेसले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उपसभापतिद्धय विमलेन्द्र निधि, विजयकुमार गच्छादार, महामन्त्रीद्धय शशांक कोइराल, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतलाई समय दिने तयारी भएको व्यवस्थापनमा खटिएका एक नेताले जानकारी दिए। कोषाअध्यक्ष सीतादेवि यादवले पनि सम्बोधनका लागि समय पाउनेछिन्।
पदाधिकारी बाहेकका अरु कुनै पनि नेताले उद्घाटन सत्रमा सम्बोधनको अवसर पाउने छैनन्। सभापतिका आकांक्षी बनेका प्रकाशमान सिंह, शेखर कोइरालालगायतले पनि समय पाउने छैनन्।
पार्टीका नेताको मनतव्यपछि अरु दलका नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिनेक्रम सुरु हुनेछ। जसमा सबैभन्दा पहिला नेकपा मालेका महासचिव सिपी मैनालीले समय पाउनेछन्। मैनालीपछि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जसपाका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिनेछन्।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि क्रमैसँग समय पाउनेछन्।
ओलीपछि भाषण गर्ने पालो वरिष्ठ नेता पौडेलको हुनेछ। अन्तिममा महाधिवेशनमा सम्बोधन गरेर उद्घाटन सत्रको समापन सभापति देउवाले गर्नेछन्।
ओली – दाहाल – नेपालको भेटघाट
कांग्रेस महाधिवेशनको अवसरमा ओली, दाहाल र नेपालबीच भेट हुनेछ। तत्कालीन नेकपाका तीन शीर्ष नेताहरु आन्तरिक किचालोका कारण अहिले तीनवटै पार्टीका अध्यक्ष भएका छन्।
ओली र दाहालबीच गत वर्ष पुस ५ गते संसद विघटन भएपछि भेट भएको छैन भने ओली र नेपालबीच पनि ६ महिनापछि भेट हुन लागेको हो।
११ महिनापछि प्रतिस्पर्धी कांग्रेसको मञ्चमा देखिन लागेका ओली–दाहाल र ६ महिनापछि भेट हुन लागेका ओली–नेपालको हाउभाउ उद्घाटन सत्रको रोचक पक्ष हुनेछ।
ओली, दाहाल र नेपालबीचको आपसी विग्रहकै कारण कांग्रेस सभापति देउवाले प्रधानमन्त्री हुने अवसर पाएका छन्। र उनै देउवाले तीनै नेतालाई पहिलोपटक भेटिने अवसर दिँदैछन्।