काठमाडौँ l नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापतिमा आफ्नो अडान नछोडेका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालासँग वार्ता गर्नका लागि छुट्टाछुट्टै समिति बनाएको छ ।
गौशालामा रहेको अनुपम फुडल्याण्डमा बिहीबार बिहान भएको इतर समूहको बैठकले सभापतिको दाबेदारीबाट पछि हट्न नमानेका नेता सिंह र कोइरालासँग वार्ताका लागि समिति बनाएको हो ।
कोइरालासँग वार्ताका लागि गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारी तथा प्रकाशमानसँग वार्ताका लागि महेश आचार्य, अर्जुननरसिंह केसी र बलबहादुर केसी रहेको समिति बनाइएको हो । उनीहरुले दुई नेतासँग वार्ता गरेपछि दिउँसो फेरि इतर समूहको बैठक बस्ने छ ।
शेखर र प्रकाशमानले सभापतिमा एकअर्कालाई नछोड्ने अडान लिएका छन्। वार्ता सीमितको निचोडपछि पनि दुवै नेता पछि हट्न नचाहेमा इतर समूहले नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार घोषणा गर्ने तयारी छ । तर प्रकाशमान वा शेखरमध्ये एकजना पछि हटेमा रामचन्द्र पौडेलले आफू उम्मेदवार नबन्ने बताउँदै आएका छन् ।
पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न दबाब दिएका छन्। तर इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय हुने सम्भावना कमजोर हुँदै गएको छ ।
संस्थापन समूहबाट देउवा सभापतिको उम्मेदवार बन्ने निश्चित भए पनि अरु पदमा कुरा मिलेको छैन। कांग्रेसको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ।