शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

यसपालि त मनै फाट्यो….

सोमबार, मंसिर २० २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि कमल थापाले पुरानो गीत सम्झिएका छन्। आइतबार एक ट्वीट गर्दै थापाले कवि राजेन्द्र थापाले रचना गरेको र अरुणा लामाले गाएको ‘पोहोर साल खुशी फाट्दा’ सम्झिएका हुन्। 

उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो 

   पोहोर साल खुशी फाट्दा
   जतन गरि मनले टाले त्यहि 
   साल माया फाट्यो त्यसलाई 
   पनि मनले टाले यसपाली त 
   मनै फाट्यो केले सिउने केले टाल्ने हो?’ 

राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान आएको मतपरिणामअनुसार लिङ्देनले १ हजार ८४४ मत ल्याए भने थापाले जम्म १ हजार ६१७ मत ल्याए। सो मतपरिणामपछि थापा ‘निर्मल निवास’सँग असन्तुष्ट छन्। उनले सामाजिक संजालमार्फत नै निर्मल निवासले आफूलाई हराउने भूमिका खेलेको बताएका छन्। 

मतपरिणाम सार्वजनिक भएपछि उनले आफू निकटको भेला याक एण्ड यति होटलमा राखेका थिए। नवनिर्वाचित अध्यक्ष लिङ्देन सहित विजयी उम्मेदवारहरुले सपथग्रहण गरिरहँदा उनले ट्वीट गरेका हुन्। उनी सपथग्रहण समारोहमा समेत सहभागी भएका छैनन्। पराजित भएपछि थापाले लगातार ट्वीट गरिरहेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहप्रति पनि उनले रोष प्रकट गरेका छन्।