काठमाडौं । प्रशासनले नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई मजबुद बनाउने बताएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।
नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी बर्दघाट–सुस्तापूर्व र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् । ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ ।
महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १०० , चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको बताए ।
नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने जनाउँदै उनेले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताए ।
महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए ।
एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको महाधिवेशन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार भएको बताए ।
महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।