पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाज्युले सेनाको सुधार ल्याउने ठूलठुला खवरहरु पढ्न पाउँदा अत्यन्त खुसी र आशपनि लागेको थियो । तर एउटा नेपाली सेनाको सदस्य भएपछि मैले कहिले त्यो महसुस गर्न पाईन । न त मैले लगाएको लुगामा कुनै परिवर्तन भयो न त सामानमा । बरु उल्टै पारदर्शितामा किनेको बुटले ७ दिनमै च्यातिएर साथ छाडिदियो । बाँकी १७ महिना २३ दिनको लागि मैले मेरो तवलबाट क्यान्टिनमा गएर किनेर लगाएँ । तर पत्रिकामा भने चिफसा’बकाे पारदर्शिताको खवर आउन छाडेन ।
सेनामा मैले अरु ठूलाठूला कूराहरु सुनें–दीर्घकालीन सोच, पुनर्संरचना, कमाण्ड अरे, पद्धति र प्रणाली, पारदर्शिता, नेतृत्व सम्बाद अनि के के ? ३ वर्षसम्म यस्ता सिपाहीसंग प्रधानसेनापति, त्रैमासिक रोलकल, सिकायत पेटीका जस्ता सिपाहीका लागि कार्यक्रम अरे- तर न त म जस्ता साधारण सिपाहीको पालो आयो न त गुनासा नै ।
सबै चिठीमा प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशनको नम्बर भने देखें । सबै अधिकृतहरु त कोठा भित्र बसेर रायसुझाव लेखेको मात्र देखें । हाम्रो परेडमा कहिल्यै आउनुभएन । अब के नेपाली सेनाले सवै लडाइँ कोठाबाटै लड्ने हो र ?
२५-३० वर्षसम्म सेनामा रगत पसिना बगाउने हाम्रो सुवेदार मेजर र पदिकसा’बहरुलाई घर जाने वेला १/२ किलो वजन बढी भएको कारणले अनररि लप्टन हुन दिनुभएन । के त्यो १ किलो बढी वजन जिन्दगीभरको योगदान भन्दा कम हुन्छ र ? पद्धति र प्रणालीमा मानवीयता, समवेदना र विवेकशीलता भन्ने हुदैन र ?
परिवर्तनको ठूलाठूला खवरहरु पढिरहँदा मेरो युनिटमा के के परिवर्तन भएछ भन्ने मूल्यांकन गर्न बसें । मेरो लत्ताकपडा, बुट, हतियार, तालिम, तरिका, सामाजिक अवस्था, परिवारिक वातावरण, कल्याणकारी काेष के मा परिवर्तन भयो त हजुर ? मैले मात्र परिवर्तन पत्रिकामा आउने समाचार, ठूला ठूला रंगिन कितावका ठेलीहरु, फोटोहरु र मोबाईलमा आउने खवरहरुमा भने ब्यापक परिवर्तन पाएँ । तर सिपाहीले तपाईले तोक्नु भएको सुविधाहरु मात्र सुन्न पाए, अनुभव गर्न पाएनन् ।
पद्धति र प्रकृया भन्दै गर्दा मेरो युनिटमा दिएको योगदानले स्थान पाइएन सर । मैले पेशागत, सामुहिक तालिम, ओआरआइ, जस्ता प्रतिस्पर्धामा दिलोज्यान लगाएर काम गरें तर पदोन्नतिमा म भन्दा पछि जागिर खाएको र संस्थालाई सँधै नकारात्मक टिप्पणी गर्नेले तालिममा राम्रो गरेको भन्दै अगाडि बढुवा भएर गयो । म दौडमा अगाडि हुनु, संस्थाप्रतिको समर्पणले तपाईको निर्देशिकाको शब्द र वाक्यलाई जित्न सकेन, तपाईले कस्तो सिपाहीको परिकल्पना गरेकाे हो त्यो थाहा भएन ? के सवै सिपाहीले अब दौडन, परेड गर्न छाडेर पढेर मात्र बस्नु पर्ने हो ? म भन्दा माथिको दर्जाहरुको पनि समस्या यही त होला नि ।
तपाईको पारदर्शिता भनेको ७ दिनमै च्यातिने र फाट्ने बुट र २ वर्षसम्म नपाउने चुस्ता हो ? तपाईको परिवर्तन शब्द सुन्नको लागि मात्र हो ? तपाईले कल्याणकारी काेषको कराेड रकम लगेर आफ्नो र आफन्तकै काम नलाग्ने भीरमा भएको जग्गा किन्नु भयो अनि कृषि अध्ययन केन्द्र खोल्नु भयो । तर म जस्ता सिपाही भने १८ हजार तलव खाएर महिनाको १२ हजार स्कूलको पैसा तिरिरहेको तपाईलाई ज्ञान नभई कल्याणकारीको कोष ५९ अर्व पुर्याएँ भन्नु पुरुषार्थ हो त ? तपाईको पारदर्शिता र दुरदर्शिताको अगाडि तपाईको पालामा खरिद गरिएकाे गुणास्तरहीन बुटले लडाइँमा मलाई बचाउला त ?
मानवीयता र विवेकशीलता नभएको, निस्वार्थ सेवा, त्याग र वलिदानलाई समेट्न नसक्ने, आफ्नालाई काखा र अरुलाई पाखा गरेर प्राप्त भएका खोक्रो उपलब्धिलाई आफ्नो पूरुषार्थको मालामा थपी प्रचार गरिरहँदा तपाईको परिवर्तनको अवधारणा लाद्न संस्था तयार छ कि छैन भन्ने तपाईले विचार पुर्याउनु भयो त ? मात्र आफू र आफ्नो छविलाई राम्रो बनाउन खोज्दा सिंगो संस्थालाई नंग्याईरहेको छु कि भनेर सोच्नु भयो ?
आज म सिपाहीको हैसियतले समाजमा जाँदा मेरा साथीहरुले मलाई त्यो संज्ञा दिईरहेका छन् जुन अपराधी करार दिई अपमान गरेर तपाईले पत्रिकामा प्रकाशन गराउनु भयो । यदि त्यो तपाईको मनाशायले प्रकाशन नभएको भए किन त्यसको खण्डन गर्न लगाउनु भएन ? सिपाहीले पत्रिकामा प्रचार गर्दा कारबाही हुने अनि प्रधानसेनापतिले गर्दा चाहिं ? पानी माथि ओभानो बन्ने, आफूमात्र राम्रो अरु चाहिं नराम्रो, सेना मेरो प्राईभेट लिमिटेड सोच्ने, तपाई भन्दा पहिले के सेना यतिकै चलेको थियो त, तपाई त्यही बाटोबाटै प्रधानसेनापति बन्नु भएको होईन र ? यो परिपाटीले संस्था साँच्चिकै परिवर्तन भयो त ?
एकपटक म जस्तो हजारौ बहालवाला र भू.पू. सैनिकहरुलाई सोधेर हेर्नुस् हामीमा तपाईले गर्दा आएको परिवर्तन भनेको परेड खेल्दा सात दिन नटिक्ने च्यातिएको बुट र खुईलिएको चुस्ता लगाएर घरको ऋण र दु:ख सम्झिदै पत्रिका र अनलाईन मिडिया हेर्न, पढ्न र कमेन्ट गर्न मात्र हो र सर ? जसले हामी सिपाहीकाे भित्री व्यथा नबुझी हजुरको गुणगान मात्र गाई रह्यो । – नेपाली सेनाको भुक्तभाेगी निस्वार्थी एक सिपाही