बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तीस रुपैयाँमा महिनाभरी बिजुली, मुलुकभरका झण्डै २० लाख परिवार लाभान्वित हुने

बिहिबार, मंसिर २ २०७८

काठमाडौं । तपाईको घरमा कति युनिट विजुली खपत हुन्छ ? यदि तपाई महिनाको २० युनिटसम्म मात्रै विजुली बाल्नु हुन्छ भने अब तीस रुपैयाँ मात्रै तिरे पुग्ने  छ ।  

नयाँ सरकारले बजेट प्रतिस्थापन गरी नयाँ बजेटमा ल्याएको सुविधा अनुसार २० युनिटसम्म विद्युत खपत गर्नेले आजदेखि महिनाको तीस रुपैया मात्रै तिर्नु पर्ने छ ।

न्यूनतम बिजुली खपत गर्ने परिवारलाई इनर्जी शुल्कका रुपमा ३० रुपैयाँ लिन लागिएको हो । मंसिर १ गतेदेखि नयाँ महशुल दर कायम भएको हो ।  

विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो ।

सरकारका अनुसार अब देशभरका १९ लाख ८६ हजार घरधुरीले मासिक ३० रुपैयाँमात्रै तिरे पुग्नेछ । यस्तै कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।

यस्तै, सिङ्गल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिङ्गल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ ।

सिङ्गल फेजबाट मासिक एक सय ५१ देखि दुई सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताले अब इनर्जी शुल्क प्रति–युनिट साढे नौ रुपैयाँ तिरे पुग्नेछ भने महिनाको चार सय युनिटभन्दा माथि बिजुली खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रति–युनिट ११ रुपैयाँमात्रै तिरे पुग्नेछ ।