शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

न्याय दिनेहरुबाटै अन्याय, बन्दीप्रत्यक्षीकरणका मुद्दा समेत नहेर्ने भन्दै सर्वाेच्चमा प्रधानन्यायाधीशलाई प्रवेश निषेध गर्ने

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौं । नेपाल बार एसोसिएशनले बन्दीप्रत्यक्षीकरणका मुद्दा समेत बहिस्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने जनाएको छ ।  

सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित भएका वकिलहरुले  आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्ने जनाएको हो ।  बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन निर्देशन दिइसकेका छन् ।  प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्ने भन्दै  बारले चेतावनी दिएको छ ।

सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ ।

त्यस्तै बारले देशभरका अदालतमा कुनै पनि मुद्दामा बहस नगर्न कानून व्ययवसायीहरूलाई आह्वान गरेको छ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ । राजीनामा नदिने प्रधानन्यायाधिशको अडान, ईजलासमा नबस्ने न्यायाधिशहरुको हठ्ले अहिले सर्वोच्च संकटमा परेको छ । प्रधानन्यायाधिश र कानुनव्यवसायी बीचको द्वन्द्व मत्थर हुने भन्दा पनि चर्किदो छ ।

कानुन व्यवसायी माग पूरा नभएसम्म आन्दोलनबाट नफर्कने बताउँछन् । 

यसअघि हिजो धर्ना दिन सर्वोच्च प्राङगण पुगेका कानुन व्यवसायीलाई प्रहरीले अवरोध गरेको थियो ।  कानुन व्यवसायीमाथि प्रहरीले धरपकड गरेपछि उनीहरुले सर्वोच्चभित्रै नाराबाजी गरेका थिए ।

प्रहरीको धरपकडमा परेर बारका महासचिव लीलामणि पौडेलसहित ६ जना कानून व्यवसायी घाईते भएका छन् ।

प्रधानन्यायाधीश राणाकै निर्देशनमा कानुन व्यवसायीहरुमाथि आक्रमण भएको भन्दै नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधिशलाई सर्वोच्च अदालत प्रवेशमानै रोक लगाउने घोषणा गरेको हो ।