कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयले गएराति मदिराको सुरमा होहल्ला गर्दै हिँडेका नेपाली सेनाका एक सेनानीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित समातेको हो । स्रोतका अनुसार उनी मदिराको नशामा लठ्ठिएर स्थानीयलाई गालीगलौज गर्दै थिए । उनले राति संगम होटलमा छिरेर होटल सञ्चालक हर्क रावललाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । रावलले मेजर शाही मापसेपश्चात आफ्नो होटलभित्र छिरेको बताए ।
‘उनी मदिराले लठ्ठ थिए । होटलमा छिर्नेबित्तिकै मसँग अभद्र व्यवहार गरे । हामी चार जना थियौं’ उनले भने–‘साथीहरुले बाहिर पठाए । त्यसपछि हतियारसहित सडकमा होहल्ला गर्दै हिँडेछन् ।’
स्रोतका अनुसार होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगी डयुटीमा रहेका सैनिकलाई लिएर फेरि करिव ४ किलोमिटर टाढा चिसापानी बजार पुगेका थिए । बजार पुग्नेबित्तिकै सर्वसाधारणलाई गालीगलौज गरेको र केही व्यक्तिलाई हातपात समेत गरेको बताइन्छ ।
उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहौल त्रसित बनेको स्थानीयले बताए । उनलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका थिए ।
स्थानीयले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा गरेका छन् ।
प्रहरीको नियन्त्रणमा रहेका शाहीले मदिराको नशाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् । होटल सञ्चालक रावलले आफ्नातर्फबाट माफी दिएको बताए । स्थानीयले ढुंगामुढाबाट क्षति पुगेको प्रहरी कार्यालय मर्मत गरिदिने बताएका छन् ।
प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा बुझाएको छ । स्रोतका अनुसार घटनाका बारेमा छानविन गर्न सुर्खेत ब्यारेकले एक टोली चिसापानी पठाएको छ । जनआश्था साप्ताहिकमा खबर छ l