काठमाडौं । मुख्य चाडपर्व सकिएसँगै मुलुकभरका शिक्षणसंस्था आजबाट खुल्ने तयारीमा छन् । विशेष गरेर छठ पर्व लगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहदा सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ लाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था उल्लेख छ ।
मापदण्ड पालनाको अनुगमन गर्न मन्त्रालयले पालिकाहरुलाई निर्देशन दिएको छ । विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे, नगरेकाबारे अभिभावक स्वयम्लाई पनि जानकारी लिन मन्त्रालयले आग्रह गरेको छ ।
वैशाखमा लकडाउन भएपछि बन्द भएका विद्यालय भदौको पहिलो हप्तादेखि खुल्न थालेका थिए । सरकारले कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार पालिकाहरुलाई दिएको छ । काठमाण्डौसहित सहरी क्षेत्रमा दशैँ तिहारको छुट्टीपछि अब सबै विद्यालय खुल्ने तयारीमा छन् ।
विद्यालय खुले पनि कोरोनाको जोखिम भने कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न सरकार र सरोकारवालाले आग्रह गर्दै आएका छन् ।