काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन आगामी चुनावसम्मै रहने दाबी गरेका छन् । बेलायतको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलनमा भाग लिई आज विहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका हुन् ।
उनले गठबन्धन सरकार पुरै समयसम्म रहने बताए पनि प्रधानन्यायाधीश प्रकरणमा भने मुख खोल्न चाहेनन् । त्यस्तै प्रधानमन्त्री देउवाले एमसिसी पास गर्ने पक्षमा नै नेपाल रहेको उल्लेख गरे ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुकको भेटमा पनि आफुले एमसीसी पास गर्ने पक्षमा नेपाल रहेको बताएको जानकारी दिए ।
पाचौं पटक प्रधानमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका देउवा आज विहान स्वदेश फर्किएका हुन् । उनी गत कार्तिक १२ गते लण्डन उडेका थिए ।