शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री देउवा बेलायतबाट आज स्वदेश फर्किँदै, वनमन्त्री यादव भने अझै केहि दिन उतै

बिहिबार, कार्तिक १८ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै एक साता लामो विदेश भ्रमणपछि आज स्वदेश फर्किदैछन् । प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय टोली कतार एयरवेजको उडानबाट दोहा हुँदै आज विहान काठमाडौं आइपुग्ने छ ।

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को  वल्ड लिडर समिटमा भाग लिन देउवा कार्तिक १२ गते बेलायत गएका थिए। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव (कोप–२६ ) मा सहभागी रहेकोले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंन लागेका हुन् ।  

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए।

पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए।

त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो।

प्रधानमन्त्री देउवाले गत सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।