काठमाडौं । तिथिको घटबढका कारण, यमपन्चकको दोश्रो दिन आज एकै दिन काग र कुकुर तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीको दिनमा मनाइने काग तिहार, आज कागलाई मीठो खानेकुरा दिएर मनाइँदैछ ।
आज बिहानसम्म त्रयोदशी भएकाले काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । उहाँका अनुसार आज बिहान ७ बजेर १४ मिनेटसम्म त्रयोदशी तिथि छ ।
त्यसपछि चतुर्दशी तिथि लाग्छ । त्यसैले सवा ७ बजेपछि भने कुकुर तिहार लाग्ने छ ।
काग तिहारमा कागलाई विशेषगरी दही भात खान दिने चलन छ । यमराजले लोकको खबर, कागको माध्यमबाट थाहा पाउने भएकोले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मनपर्ने खानेकुरा दिएर खुसी पार्ने चलन बसेको गौतमको भनाइ छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक हिजैदेखि सुरु भएको छ । सायम् कालमा कार्तिक त्रयोदशी परेको दिन शुरु हुने यमपञ्चक, यो वर्ष तिथिको घटबढका कारण, गएको बेलुकीदेखि नै शुरु भएको समितिले जनाएको छ ।
यसैबीच
काठमाडौंको माइतीघरमा आज बिहान एक हजार काग डाकेर पूजा गरिने भएको छ ।
यमपञ्चकको पाँच दिनलाई विश्व प्राणी सप्ताहका रुपमा मनाउन, नेपालबाट अपिल अभियान सुरु गर्ने क्रममा आज बिहान साढे ८ बजे माइतीघरमा एक हजार काग आव्हान गर्दै कुकुर पूजासहित प्रदर्शनी गर्न लागिएको, प्राणी हित जागरण अभियानकी महासचिव शोभाश्री शाक्यले बताइन् ।
गाई तिहारलाई विश्व गाई दिवस, काग तिहारलाई विश्व काग दिवस, गोरु तिहारलाई विश्व गोरु दिवस र कुकुर तिहारलाई विश्व कुकुर दिवस घोषित गर्न अपिलका लागि, माइतिघरमा विशेष कार्यक्रम राखिएको शाक्यको भनाइ छ ।
अभियानले, अब हरेक वर्ष तिहारका दिनलाई काग, कुकुर, गाई र गोरु दिवस घोषणा गर्न नेपाल सरकारका साथै संयुक्त राष्ट्रसंघलाई पनि अपिल गरेको छ ।