शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धनतेरससँगै आजबाट दीपावली सुरु, धन्वन्तरी जयन्ती पनि आजै

मंगलबार, कार्तिक १६ २०७८

काठमाडौं । दीपावली अर्थात् तिहार पर्व आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज  ‘धनतेरस’ मनाइँदै छ ।

विशेष गरी मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भन्ने गरिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ ।

आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा  बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल मान्यता छ । 

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती पनि आजै परेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा  पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् ।  

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड हुने गर्छ ।