शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री देउवाले आज वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्दै, जलवायुजन्य हानी नोक्सानीबाट भएको क्षतिको जानकारी गराउने

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आज वल्र्ड लिडर समिटलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६) का लागि प्रधानमन्त्री देउवा लण्डनबाट स्कटल्याण्डको ग्लासगो पुगिसक्नु भएको छ ।

स्थानीय समय अनुसार आज दिउसो प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ । सम्मेलनमा देउवाले जलवायुजन्य हानी नोक्सानीबाट भएको क्षतिपूर्तिका लागि आवाज उठाउनु  हुने छ । 

नेपालले पर्वतीय क्षेत्र, जनजीविकामा जलवायु परिवर्तनको असर तथा जलवायुजन्य हानी, नोक्सानी र क्षतिलाई अनुकूलन भन्दा पर्याप्त र सहज किसिमको बजेटमार्फत् विशेष कार्यक्रमहरूबाट सम्बोधन गर्नुपर्नेगरी स्थिती पत्र (स्टाटस पेपर) पेश गर्ने छ ।

नेपालले तयार गरेको स्थिती पत्रमा जीसीएफको वित्त निकासी प्रक्रिया ढिलो र जटिल भएको तथा नेपालजस्ता मुलुकहरूका लागि बोझिलो भएकोसमेत  उल्लेख गर्दै त्यसलाई सरलीकृत बनाउनुपर्ने उल्लेख गरेको छ ।

सीओपी (कोप) को पूरा रुप ‘कन्फरेन्स अफ द पार्टीज’  हो ।  कोप हरेक वर्ष हुन्छ । यसमा १९७ देश सदस्य छन् । कोप ‘युनाइटेड नेशन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (यूएनएफसीसीसी) अन्तर्गतको सम्मेलन हो । यूएनएफसीसीले हरेक वर्ष यो सम्मेलनको आयोजना गर्छ । यूएनएफसीसीसीको मुख्यालय जर्मनीको बोनमा छ ।

सम्मेलनको सम्बोधनपछि प्रधानमन्त्री देउवाले आजै विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्नु हुने छ ।  भ्रमणका क्रममा देउवाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

त्यस्तै देउवाले भोलि नैं  श्रीलङ्काका राष्ट्रपतिसँग पनि भेट्नु हुने छ । हिजोदेखि ग्लास्गोमा सुरु भएको कोप–२६ सम्मेलन नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आगामी विहिबार स्वदेश आइपुग्नु हुने छ ।