काठमाडौं । काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको हिजो न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।
काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिउद याम सुरु भएसँगै चिसो निरन्तर बढ्दै जाने विभागले जनाएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो हुन थालेको छ ।
दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।