शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बालबालिकाका लागि एक करोड खोप आउँदैछ : स्वास्थ्यमन्त्री

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ l स्वास्थ्यमन्त्री विरोध खतिवडाले अमेरिकासँग मोर्डना र फाइजरको १ करोड डोज खोप बुक गरिसकेको बताएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेकाले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउनका लागि एक करोड डोज खोप बुक गरिसकेको बताएका हुन्।

उनले भने, ‘यो भन्दा अगाडि १८ वर्षमाथिका व्यक्तिहरुका लागि मात्रै खोप बनेको थियो र त्यही समूहले मात्र खोप लगाएका थिए। अहिले १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउने खोप उत्पादन भइसकेको र विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेकाले गर्दा १२ वर्षमाथिकालाई खोप दिन एक करोड खोप बुक गरिसकेका छौँ।’

मन्त्री खतिवडाले अमेरिकाबाट ल्याइने १ करोड फाइजर र मोडर्ना खोप ५० लाखलाई पुग्ने बताए।

उनले भने, ‘दुई डोज गरेर एक करोड खोप ५० लाखलाई पुग्छ। योसँगै अमेरिकी अनुदानमा १ लाख खोप आइसकेको छ।’

बिहीबार अमेरिकी सरकारले कोभ्याक्समार्फत १ लाख २० हजार डोज खोप नेपालाई उपलब्ध गराएको थियो।

उक्त खोप १२ वर्षमाथिका दीर्घ रोगका बिरामी बालबालिकालाई दिने योजना सरकारले बताएको उनले बताए।

त्यसैगरी मन्त्री खतिवडाका अनुसार चीन र भारतले १२ वर्षभन्दा कम उमेरका बालकालिकाका लागि नयाँ खोप परीक्षण गरिहरहेको बताउँदै जुन देशले अगाडि मान्यता पायो त्यहीँबाट १२ वर्षभन्दा कमका बालबालिकाका लागि खोप खरिद गरिने छ।

उनले भने,‘चीन र भारतमा पनि ११ वर्ष माथिका बालबालिकालाई लगाउने खोप अन्तिम ट्रायल भइरहेकाले जसले अगाडि अनुमति पाउछ, त्यहीबाट खोप ल्याइने छ।’ यस्तै, मन्त्री खतिवडाले सरकारले चैतसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने गरी योजना अगाडि बढेको जानकारी समेत गराए।