शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्कटल्याण्डमा रुख रोप्न प्रधानमन्त्री देउवा लण्डन जादै

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बेलायत प्रस्थान गर्दै छन्  । नोभेम्बर १ र २ मा  हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को  २६औँ सम्मेलनमा भाग लिन लण्डन जान लागेका हुुन् । 

कोप २६ को वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत पुग्ने प्रधानमन्त्री देउवाले त्यहा रहदा पर्सी नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा आगामी सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री देउवाले वल्र्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्ने छन् ।

सोही दिन साँझ देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले  आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यतालिका छ ।  प्रधानमन्त्री देउवा र समकक्षी जोनसनबीच सोही समारोहमा द्विपक्षीय भेटवार्ता हुने तय गरिएको छ ।

प्रधानमन्त्री देउवाले आगामी बुधबार  स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनमा हुने भेलालाई सम्बोधन गर्ने छन् । उनले त्यहा नेपाली बगैँचामा बिरुवा समेत रोप्ने छन् ।  

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुने छन् ।

देउवा नेतृत्वको टोली विहिबार लक्ष्मीपुजाका दिन नेपाल आइपुग्ने छ ।