काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने गरी न्यूनतम शुल्क ३० रुपैयाँ मात्र महशुल निर्धारण गरेको छ ।
विद्युत नियमन आयोगले दिएको सुझाव अनुसार आगामी महिनादेखि नयाँ महशुल दर लागू हुने भएको हो । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहक लाभान्वित हुने आयोगको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले नयाँ विद्युत महशुल दर तय गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिए ।
त्यस्तै, आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।
आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महशुल दर साबिकको भन्दा कम गरेको छ । यसकालागि ग्राहकले प्रति युनिट साढे ९ रुपैयाँ तिर्नुपर्ने छ ।
सिँचाइका ग्राहकको महशुल औसतमा ४० प्रतिशतसम्म घटाइएको छ ।
त्यस्तै एक हजारभन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायाममा प्रतियुनिट साढे १० रुपैयाँ र सुक्खा याममा प्रति युनिट ११ रुपैयाँ बुझाउनु पर्ने छ । यो दर भनेको अघिल्लो महसुल भन्दा एक रुपैयाँले कमी हो ।
साथै सिङ्गल फेज तथा थ्री–फेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले मिटरको क्षमता वृद्धि गर्दा लाग्ने दस्तुर निःशुल्क गरिएको छ ।
भारतबाट अघिल्लो वर्ष प्राधिकरणले २१ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा आगामी वर्ष १२ अर्बको बिजुली ल्याए पुग्ने प्रक्षेपण गरेको छ ।