काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल राजनीतिक इनिङ्सको तयारीमा जुटेका छन्।
प्रहरी सेवाबाट निवृत्त हुनासाथ राजनीतिमा आउने उनको योजना थियो। सोहीअनुसार तनहुँ गृह जिल्लालाई चुनावी क्षेत्र बनाउने योजनासाथ खनाल राजनीतिमा सक्रिय हुने तयारीमा छन्।
‘राजनीतिमा आउने पक्कापक्की हो, मिति तय गरेको छैन’, खनाल भन्छन्,‘प्रहरी सेवामा रहँदा देश सेवाको एउटा मौका पाइयो अब राजनीतिमा छिरेर फेरि मुलुकका लागि केही योगदान दिने सोच छ।’
खनाल अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट राजनीतिमा सक्रिय हुने लख काटिएको छ। तर उनले यहि पार्टीबाट राजनीति गर्छु भन्नेचाहिँ औपचारिक रुपमा खुलाएका छैनन्।
एमालेबाट नै भविष्यमा राजनीतिक यात्रा थाल्ने उनले संकेत दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सांसद महेश बस्नेत र किसान श्रेष्ठसहितसँग खनाल महोत्तरीसम्म पुगेको विषय सतहमा आएको थियो। उक्त सहकार्यले पनि खनाल एमालेको राजनीतिमा प्रवेश गर्ने स्वभाविक अड्कल काट्न सकिन्छ।
प्रहरीमा रहँदा सेलिब्रिटी छवि बनाएका पूर्वआईजी खनाल पछिल्ला चरणमा भने कुमार पौडेल इन्काउन्टर प्रकरणमा तत्कालिन गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापासँगै नाम जोडिएर विवादीत विषयमा तानिएका छन्।
पूर्वप्रहरीमा तत्कालिन नायव महानिरिक्षक (डीआईजी) रहेका नवराज सिलवाल सेवा निवृत्त भएपछि एमाले राजनीतिमा सक्रिय छन्। उनले गएको चुनावमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भई प्रतिनिधित्व गरिरहेका छन्।