काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।
मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् ।
अहिलेसम्म ८६ लाख ३२ हजार २९३ जनाले पहिलो मात्रा र ६७ लाख ९ हजार ९०५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
केही महिना मत्थर भएको कोरोना संक्रमण पुन विभिन्न देशमा फर्कन थालेको हो । सबै गतिविधि लयमा ल्याइसकेको चीनले बढ्दो संक्रमणलाई लिएर सतर्कता अपनाउन सुरु गरिसकेको छ ।
संक्रमण दर बढेको भन्दै रुसले निषेधाज्ञाको तयारी थालेको छ । आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबगसहित मुख्य शहरमा पसललगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । संक्रमण दर यही रफ्तारमा बढेको अवस्थामा अन्य शहरमा पनि प्रतिबन्ध लगाउने भन्दै सचेत रहन रुस सरकारले आग्रह गरेको छ ।
बेलायत, युक्रेन, मेक्सिको, थाइल्याण्ड, जर्जिया, लिथुवानिया, दक्षिण कोरिया, मङगोलिया, अष्टेलियालगायतका देशमा पनि अनपेक्षित संक्रमणको प्रभाव देखिएको छ । संक्रमण बढ्न थालेपछि बेलायत सरकारले वुस्टर डोज खोपलाई प्रभावकारी बनाउने योजना ल्याएको छ ।
युक्रेनमा पठनपाठन ठप्प छ ।
हाल डेल्टा प्लस भेरियन्टको प्रभाव बढी देखिन्छ । डेल्टा प्लस भेरियन्ट अझ छिटो फैलन सक्ने भन्दै विज्ञहरूले सचेत गराएका छन् ।