काठमाडौँ l चार जना पूर्वप्रधानन्यायाधीशहरुले पदबाट राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सुझाव दिएका छन्।
पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विवादास्पद बनेका प्रधानन्याधीश चोलेन्द्रशमशेर राणालाई राजीनामा गर्न आग्रह गरेका हुन्।
उनीहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै न्यायिक प्रकृया नै सुचारु हुनु नसक्ने गरी सहकर्मीहरु बीचको विश्वास भत्कन दिनु, न्यायिक प्रकृया आफ्नो प्रकृति अनुरुप सुचारु राख्न कोशिस नहुनु, आफ्नो छविको कारण समग्र न्यायपालिकाले नै अपारदर्शी र अविश्वसनीयताको भार बोक्नुपर्ने परिस्थिति यथावत रहन नदिन र त्यसको स्वीकार्य समाधान अविलम्ब खोज्न वर्तमान नेतृत्वले मार्गप्रसस्त गर्नुपर्ने उल्लेख गरेका हुन्।
उनीहरुले अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेकाले जवाफदेहीता प्रधानन्यायाधीश स्वयंले ग्रहण गर्नुपर्ने उल्लेख गर्दै न्यायपालिकाको समक्ष उपस्थित चुनौतीहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थभन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन प्रधानन्यायाधीश राणासँग आग्रह गरेका छन्।
प्रधानन्यायाधीश र न्यायाधीशबीच विश्वास भत्कनु राम्रो नभएको उल्लेख गर्दै संयुुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रकृया नै सुचारु हुनु नसक्ने गरी सहकर्मीहरूबीचको विश्वास भत्कन दिनु, न्यायिक प्रकृया आफ्नो प्रकृति अनुरुप सुचारु राख्न कोशिस नहुनु, आफ्नो छविको कारण समग्र न्यायपालिकाले नै अपारदर्शी र अविश्वसनीयताको भार बोक्नुपर्ने परिस्थिति यथावत रहन नदिने हो र त्यसको स्वीकार्य समाधान अविलम्ब खोज्ने हो भने न्यायपालिका, कानून प्रणाली, प्रजातन्त्र र राष्ट्रको लागि वर्तमान नेतृत्वले जो चाहिने त्याग गरेर भए पनि मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ।’
सोमबार सर्वोच्चकै १३ जना न्यायाधीशहरुले राणाले तोेकेको इजलास बाहिस्कार गरेर राजीनमा माग्ने निर्णय गरेका छन्। नेपाल बार र सर्वोच्च बारले पनि राजीनामा अनिवार्य भएको निष्कर्ष निकालेका छन्।