काठमाडौँ l नेपाल भ्रमणमा निस्किएका भारतीय नेशनल डिफेन्स कलेजका सैनिक अधिकारीहरुको टोली नेपाली सेनाको हेलिकोप्टर चढेर मुस्ताङतर्फ लागेको छ l
भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ गएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ—५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरे। तर राजनीतिक विश्लेषकहरुले भने भारतीय सैनिकको भ्रमणलाई अर्थपूर्ण रुपमा अथ्र्याएका छन् ।
मुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवलोकन भ्रमणका आएको भारतीय टोलीलाई नेपाली सेनाको टोलीले कडा सुरक्षा निगरानी गरेको छ। जिल्ला प्रहरी मुस्ताङले भारतीय सेनाको टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर केही घण्टापछि फर्किने जनाएको छ।