काठमाडौँ । विश्वासको मत लिने दिन आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता जोगाउन सांसद किनबेच भएको आशंका भएकाले नेपाली कांग्रेस प्रदेश नम्बर–१ ले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।
आफ्ना सांसद बिकेको थाहा पाएपछि नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । तर, कांग्रेसले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को पाढीपहिरोको क्षति अवलोकन गर्न आएकाले सवै सांसद त्यतै हुँदा प्रदेशसभा प्रभावित हुने भएपछि बैठक स्थागित गर्न माग गरिएको प्रदेश १ कांग्रेसले जनाएको छ ।
देउवालाई प्रमुख कारण देखाए पनि अन्तर्यमा भने आफ्ना केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्न निवेदन दिएको कांग्रेसकै एक सांसदले बताए ।
‘कांग्रेसबाट भीम आचार्यलाई मत दिने भन्ने चर्चा छ,’ ती सांसदले भने, ‘यही बेला प्रधानमन्त्रीको समेत भ्रमण छ, पार्टीमा थप छलफल गर्नु पर्ने स्थिति देखिएको छ ।’ मुख्यमन्त्री आचार्यले आइतवार विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्ने कार्यसूची छ ।
९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन् ।