शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ओली लागे झापातिर

आइतबार, कार्तिक ७ २०७८

काठमाडौँ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्लातर्फ जाने  भएका छन्।  

पार्टी तीनजना शीर्ष नेतालाई लिएर अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेछ।

नेकपा एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा जान लागेका हुन।  

सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज बिर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै छन्।  

दिउँसो १२ बजे साई पार्टी प्यालेसमा हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन्। यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।  

भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्नेछन्।  त्यसपछि दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुने कार्यक्रम रहेको छ। 

भोलि साँझ ओलीले विराटनगरमा कार्यकर्ता भेलामा सहभागी हुनेछन्।  ओली कार्तिक ९ गते बिहान काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।