शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

४ दिनको झरीमा ८२ को मृत्यु , अझै २६ बेपत्ता

बिहिबार, कार्तिक ४ २०७८

काठमाडौं । बेमौसममा अनपेक्षित भएको वर्षाका कारण गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ८२ जनाको अकालमा मृत्यु भएको छ ।  गृह मन्त्रालयले मृतकको संख्या पुष्टि गर्दै अन्य २६ जना अझै हराइरहेको जनाएको छ ।

गृहमन्त्रालयका अनुसार सबैभन्दा धेरै पाँचथरमा २७ जनाको मृत्यु भएको छ । बाढी पहिरोले इलाममा १३ जना, डोटीमा १२, धनकुटामा ७ , हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

प्युठान, बझाङ र उदयपुरमा दुई – दुई जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ  ।  सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा पनि एक- एक जनाको मृत्यु भएको छ ।  

हराएकाको खोजी कार्य भइरहे पनि अहिलेसम्म नभेटिएकाले मृतकको संख्या बढ्ने देखिन्छ ।  सबैभन्दा धेरै बझाङमा २१ जना बेपत्ता छन्  ।  बाढी, पहिरो र डुबानबाट १९ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।

पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, जुम्ला, सुनसरी, बैतडी, कालीकोट, कञ्चनपुर, बर्दिया, कैलाली, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत, बझाङ, मोरङ, डडेलधुरा प्रभावित भएका छन् । यस्तै, बाढी पहिरोका कारण ठाउँ ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।

उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । 

यसैबीच, प्रधानमन्त्री शेरवहादुर देउवाले आज बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्ने भएका छन् । देउवाले धनगढी पुगेर त्यहाँबाट हेलिकप्टरमार्फत् डडेल्धुरा, डोटीलगायत क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आज दिनभरी बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्ने देउवाको योजना छ ।

उनी भोलि मात्रै राजधानी फर्कने बताइएको छ ।