शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पहिरोले घर पुरिँदा धनकुटामा एकै परिवारका ६ जनाको मृत्यु, दुई दिनमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

बुधबार, कार्तिक ३ २०७८

काठमाडौं । बेमौसमी वर्षाका कारण खसेको पहिरोले   घर पुरिँदा धनकुटाको  बुधबारे बजारमा ६ जनाको मृत्यु भएको छ । रातभरी परेको अविरल वर्षाका कारण खसेको पहिरोले स्थानीय भीमवहादुर श्रेष्ठको घर पुरिदा ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीया नातिनी निर्जला श्रेष्ठ, दसैं मान्न पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, ३८ वर्षिया लक्ष्मी श्रेष्ठ र ७ वर्षिय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाकाले जनाएको छ ।  

सोही घर पुरिदा अन्य  ६ जना घाइते भएका छन् । घाइते हुनेमा ३१ वर्षिय भेषबहादुर श्रेष्ठ,  २९ वर्षिया लिला श्रेष्ठ र ५४ वर्षिया  गणितकुमारी श्रेष्ठ छन् । बाटो बिग्रिएकाले घाइतेलाई अस्पताल लैजान हेलिकोप्टर ल्याउने प्रयास भइरहेको छ । 

सोही ठाँउको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पुरेको छ । तर त्यहाँ भने मानवीय क्षति भने नभएको स्थानीय पत्रकार रमेशचन्द्र अधिकारीले बताएका छन् ।  

यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

यसैबीच,  बाढी पहिरोमा परेर अहिले सम्म मुलुकभरमा १६ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २ जना , कालिकोट र डडेल्धुरामा एक एक जनाको मृत्यु भएको हो ।  

बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । 
लगातारको बाढी पहिरोका कारण धेरै ठाउँमा सञ्चार र विद्युत् सेवा ठप्प  हुदा सूचना आदानप्रदान र उद्धारमा कठिनाइ भएको  छ । गृह मन्त्रालयले प्रभावित जिल्लामा खोज उद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।