शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवस्टेशन नै डुबानमा परेपछि प्रदेश एकमा ब्ल्याक आउट, कहिले आउला बिजुली ?

बुधबार, कार्तिक ३ २०७८

काठमाडौं । दुई दिनदेखि परिरहेको वर्षाका कारण सुनसरीको दुहबी सबस्टेशन डुबानमा परेको छ ।

दुहबी सबस्टेशन डुबानमा परेपछि प्रदेश नं १ का अधिकांस जिल्लाहरूमा विद्युत् आपूर्ति बन्द भएको छ । सव स्टेशनबाट विद्युत आपूर्ति हुन नसक्दा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको हो ।

सबस्टेशन डुबानमा परेपछि अहिले त्यहाँबाट आपूर्ति हुने लाइन काटिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 
बाढी पसेर सबस्टेशन डुबानमा परेपछि त्यहाँबाट विद्युत् आपूर्ति गर्ने लाइन काटिएको हो ।  अझै पानी परिरहने हो उपकरणहरूमा ठूलो क्षति पुग्ने देखिएको छ ।

यद्यपी प्राधिकरणले सबस्टेशनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत् आपूर्ति उपलब्ध गराउने पहल भने सुरु गरेको छ ।  

दुहबी सबस्टेशन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको छ । बिजुली खपत नभए पछि काबेली करिडोरमा जोडिएका झन्डै १७० मेगावाटका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन पनि बन्द गरिएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालित ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत उत्पादन पनि  बन्द भएको छ ।

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत् आपूर्ति पनि ठप्प भएको छ ।