शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

के गर्दै छ जंगी अड्‍डामा बिदेशी सैन्य टोली ?

मंगलबार, कार्तिक २ २०७८

काठमाडौँ । असोज ३१ देखि नेपाल भ्रमणमा रहेको भारतको राष्ट्रिय प्रतिरक्षा शिक्षार्थीको टोलीले आज नेपाली सेनाको मुख्यालय जंगी अड्‍डामा भ्रमण गरेको छ ।

जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेट तथा अन्तर्क्रिया गरेका छन् । तत्पश्चात् नेपाली सेनासम्बन्धी विषयहरुमा प्रस्तुतीकरण र अन्तर्क्रियाको कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाबीच रही आएको सम्बन्ध सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषय सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आजै एक फरक कार्यक्रममा भ्रमणदलमा सहभागी शिक्षक तथा तालिमरत शिक्षार्थीका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटको कार्यक्रमसमेत गरिएको थियो ।उक्त भ्रमणदलले आजै रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग पनि भेट्ने कार्यक्रम छ ।

अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भएको उक्त भ्रमण दल कार्तिक ०६ गते भारत फिर्ता हुनेछ ।