काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएर नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कडा निर्देशन दिएका छन् ।
आईतबार पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले नवनियुक्त मन्त्रीहरूलाई इमान्दार र कर्तव्यनिष्ठ भएर देश र जनताको हितमा काम गर्न निर्देशन दिए ।
एस पार्टीबाट नियुक्त मन्त्रीलाई नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त हुन समेत नेपालले सचेत गराएका छन् । कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न उनले सुझाव दिएका छन् ।
‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौं । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । फलानो मन्त्री रक्सी खाएर माते, बेलुका–बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरूसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस्,’ नेपालले भने, ‘सिधा कुरा – रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् ।’
अध्यक्ष नेपालले पार्टीको नेतृत्व र पार्टीले जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्न, पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दुमा राखेर काम गर्न समेत निर्देशन दिए । ‘विज्ञ र अनुभवीहरूसँग नियमित रूपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ । तपाईंहरूले ५ दलीय गठबन्धनको भावना अनुरूप अरु दलसितसमेत सहकार्य गर्ने गरी आफ्नो कार्यसम्पादन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सांसदहरू र पार्टीका विभिन्न क्षेत्रका कार्यकर्तासँग जीवन्त सम्पर्क राख्नुपर्छ ।
पीएहरू नियुक्त गर्दा पार्टीले नै सबैको परामर्शको आधारमा, सल्लाहकारहरू नियुक्त गर्दाखेरी पार्टीका परामर्शका आधारमा, अन्य जोडिएका अनेक पक्षहरू हुन्छन्, ती सबै आफूखुशी, आफ्नो ढंगले गर्ने होइन, त्यस सम्बन्धमा पार्टीको परामर्शको आधारमा चल्नुपर्छ ।’
उनले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुमाथि अगाडि नै सामूहिक रूपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने सुझाव दिए ।
सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जस–अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै अध्यक्ष नेपालले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई पनि जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएर नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कडा निर्देशन दिएका छन् ।