काठमाडौं । बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए तर दसैं नजिकिदै गर्दा अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए ।
यात्रुको सहजीकरणका लागि महाशाखाले ट्राफिक व्यवस्थापन मिलाएका जनाउदै बाहिरिने यात्रुको सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको भट्टराईको भनाई छ । तथ्यांक अनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो ।
त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । सवारी साधन रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी देखिएको छ । त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा नरहने महाशाखाको भनाई छ ।
साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले बताए ।
यसपाली असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।
प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ ।