काठमाडौँ l लामो समयपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार (आज) पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबण्डामा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।
पछिल्लो समय एमाले विभाजन गरी नेकपा एकीकृत (समाजवादी) पार्टीको दर्ता गर्ने क्रममा निकै चर्चामा रहेकी विधार्थी तथा युवा नेत्री रामकुमारी झाक्रीले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएकी छन l
यस्तै एकीकृत समाजवादीबाट विरोध खतिवडालाई शहरी विकास, प्रेम आलेलाई पर्यटन र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन्। समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।
माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।
देउवा सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल पहिले नै नियुक्त भइसकेका छन्। माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ।
जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्रकुमार सिंह, मोहम्मद इस्तियाक राई, रेणु यादव मन्त्री बन्ने लाइनमा छन्। जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ।
कांग्रेसले स्वास्थ्य छाडेर सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ।