आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राज्यले उनीहरुको सम्मानमा कुनै कमी आउन नदिने प्रधानमन्त्री देउवाको भनाई

शुक्रबार, असोज १५ २०७८

काठमाडौं । आज अक्टोबर १ अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ । यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्न र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ ।

तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।  

यसैबीच नेपाल टेलिकमले आजदेखि आउँदो २५ गतेसम्म ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड दिने भएको छ ।  सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्वहरु भन्दै राज्यले उनीहरुको सम्मानमा कुनै कमी आउन नदिने बताउनु भएको छ ।