काठमाडौं । चीनसँगको सिमा मिचिएकोबारे अध्ययन गर्न गठित सरकारको समितिले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य संयोजकत्वको टोलीले विभागीय मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।
हुम्लाको नाम्खामा सिमा मिचिएको भन्ने सम्बन्धी विषयको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । अब अन्य मुलुकका सिमाबारे अध्ययन गर्न बाटो खुलेको मन्त्री खाँणको भनाई छ ।
भदौ १६ गते बनेको समितिले भौगोलिक तथा सामाजिक सांस्कृतिक वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेको मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।
मन्त्रालयको समितिले दुई पक्षीय मामिलाको समाधान संयुक्त रुपमा विज्ञ सहभागी गराएर समाधान गर्न सुझाव दिएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारले पनि हुम्लाको सिमानाबारे अध्ययन गर्न समिति बनाएको थियो । तर सो समितिले नाम्खामा सिमाना सबै ठिकठाक रहेको जिकिर गरेको थियो ।