काठमाडौँ l हाल जारी नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको वडा अधिवेशन केही विवादित बाहेकका क्षेत्रमा सकिएको छ l वडा अधिवेशन सकिए लगतै पालिका अधिवेशनको चर्चा सुरु भएको छ l
शनिबार मात्रै ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन सम्पन्न भएको छ भने केही पालिकामा मतपत्र नै जलाइएको छ र केही ठाउँमा झडपका कारण मतदान स्थगित गरिएको छ ।
हाल सम्म प्राप्त नतिजा अनुरुप नेपाली काँग्रेसको पालिका अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ ।
पोखरा महानगरको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्, उनी रामचन्द्र पौडेल पक्षका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पूर्व सांसद कञ्चन वादे श्रेष्ठ पक्षले उठाएका उम्मेद्वारहरुले हारेका छन्, बनेपामा उनले शान्ति रत्न शाक्यलाई सभापतिमा उठाएका थिए ।
बनेपा नगर सभापतिमा महेश कर्माचार्य विजयी भएका छन् भने बेथाञ्चोक गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना आएका छन् । यी दुबै जना केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षका व्यक्ति हुन् । त्यस्तै पनौती नगरपालिको नगर सभापतिमा रामशरण भण्डारी सर्वसम्मत भएका छन् भने नमोबुद्ध नगारपालिकाको निर्वाचनबाट सर्वसम्मत रुपमा कुन्साङ लामा सभापति भएका छन् ।
यसैगरी पाँखाल नगरपालिकाका मेयर महेश खरेलले सञ्जय लामालाई सर्वसम्मत सभापति बनाएका छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षको टिमले अधिकांश पालिकामा चुनाव जितेको छ । रुपन्देहीका ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए ।
बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् । पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् ।
उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिएका थिए ।
रुपन्देहीकै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाएका थिए । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिश खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका हुन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् ।